प्रजातन्त्रलाई थप सुदृढ एवम् संस्थागत गर्नु हाम्रो दायित्व हो –मुख्यमन्त्री पाण्डे

तु खबर संवाददाता
२०७८ फाल्गुन ७, शनिबार १०:०६

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भएको बताएका छन् । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट आएको व्यवस्थालाई थप सुदृढ तुल्याउन सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

‘जनताकै बलमा २००७ साल फागुन ७ गतेका दिन १०४ वर्ष लामो जहाँनिया निरंकुश राणा शासन अन्त्य भई मानवअधिकार तथा राजनैतिक स्वतन्त्रतासहितको प्रजातन्त्र स्थापना भएको थियो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विगतका ऐतिहासिक आन्दोलन, संघर्ष, त्याग तथा बलिदानको विशीष्ट भूमिका रहेको छ । यही सेरोफेरोमा र त्यही संघर्षको बलमा अहिले देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता सहितको संविधान कृयाशील छ । यसर्थ, हामीले आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरवबोध गर्ने दिनका रुपमा सम्झिनु पर्दछु । ’ पाण्डेले भने ।

उनले मुलुकमा विभिन्न समयमा भएको क्रान्ति पश्चात पुरानो संरचना बद्लिएर नयाँ संरचना स्थापना भएपनि जनअपेक्षा अनुसारको काम भने अझै हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले अझै पनि देशले आर्थिक सामाजिक क्षेत्रमा गति लिन नसकेको, सामाजिक सुधार पनि राम्रोसंग गर्न नसकेको भन्दै त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए । उनले राजनीतिकर्मीहरुले भोट नपाइएला कि भन्ने डरले सहि कुरा बोल्न डराउन नहुने सुझाव दिए । आफुहरु जस्तै नेताहरु भएको ठाउँमा सामाजिक कुरिती यथावत रहेको उल्लेख गर्दै उनले त्यसका विरुद्ध अब एकजुट भएर बोल्ने दिन आएको बताए ।

उनले बागमती सरकार नयाँ ढंगबाट अघि बढिरहेको पनि बताए । विज्ञ सल्लाहकारसमेत राखेर प्रदेशलाई व्यवस्थित गर्ने सवालमा आफुहरु दत्तचित्तले लागिपरेको बताउँदै त्यसका लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएको उल्लेख गरे । उनले अब लोकतन्त्रको रक्षा, देशको समृद्धि र राष्ट्रियताको रक्षाको लागि  एक जना पनि नेपालीले रगत बताउने दिन आउन नदिन सबै गम्भीर हुनुपर्ने बताउँदै  राष्ट्रियताको संरक्षण, देशको भू–भागको संरक्षण, जनताको संरक्षणमा सबै अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेल, वन तथा वातावरणमन्त्री विशाल खड्कालगायत विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।