खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष लामा पदमुक्त

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १८:२२

मकवानपुर । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा पदमुक्त भएका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद नियमावली संशोधन गरेसँगै लामा पदमुक्त भएका हुन् । प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति अध्यक्षको पधावधी २ वर्षमात्रै कायम गर्ने निर्णय गरेपछि उनी पदमुक्त भएका हुन् ।

‘अघिल्लो सरकारले हतारमा पदावधी नै कायम नगरी नियुक्त दिएकाले त्यसलाई व्यवस्थित गर्न नियमावली संसोधन गरेर २ बर्षको पधावधी कायम गरिएको हो ।’ प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले भने ।

लामालाई तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार कायम रहँदा २०७६ माघ २२ गते खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । प्रदेश सरकारको सो निर्णयअनुसार लामासँगै नियुक्त भएका प्रदेशका अन्य जिल्लाका खेलकुद विकास समिति अध्यक्ष पनि पदमुक्त भएका छन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पनि आज बर्खास्त गर्ने निर्णय गरेको छ ।