रेडियो थाहाको आयोजनामा वत्तृत्वकला प्रतियोगिता

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १६:४१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्जको आयोजनामा बिहिबार मावि स्तरीय वत्तृत्वकला प्रतियोगिता भएको छ । विन्दाबासिनी मिडिया प्रालिद्वारा संचालित उक्त रेडियोले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तरगत आज पाँचौ दिन वत्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

‘सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कसको ?’ भन्ने विषयमा भएको प्रतियोगितामा मकवानपुर बाल विद्यासदनकी कुसुम खड्का प्रथम, बालजागृति इंङ्गगलिस स्कुलकी ऋषिका श्रेष्ठ द्धितिय र आधुनिक राष्ट्रिय माविका कर्ण यादव तृतीय भएका छन् । उनीहरुलाई क्रमशः नगद ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ र २ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरेको रेडियोले जनाएको छ ।

मकवानपुर प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नारायणी संघका प्रवन्धक सरोज खनाल, गैरसरकारी संस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा, जिल्ला अविभावक संघ मकवानपुरका अध्यक्ष ध्रुव चौलागाई लगायतको आतिथ्यता रहेको थियो । रेडियोले सप्ताहव्यापी कार्यक्रम अन्तरगत भोलि छैठौं दिन कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम र सातौं अर्थात अन्तिम दिन थाहा सम्मान तथा वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलनको आयोजना गर्ने भएको छ ।

रेडियोले यसअघि आइतबार पहिलो दिन पर्यावरण प्रर्वद्धनको लागि साइकल र्याली, दोस्रो दिन सोमबार रेडियोले बृहत रक्तदान कार्यक्रम, तेस्रो दिन रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रम, चौथो दिन दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम गरेको थियो ।