बागमती प्रदेशमा पोल्ट्री विकास बोर्ड गठनको मस्यौदा तयार
मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रको रुपान्तरण मार्गचित्र अनुरुप गरिएको कार्यसम्पादन प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । मन्त्रालयले प्रवक्ता–पत्रकार भेटघाटमार्फत् मार्गचित्रमा समेटिएका विषयवस्तुहरुबारे जानकारी गराएएको हो ।
मन्त्रालयका प्रवक्ता तथा योजना तथा अनुगमन महाशाखा प्रमुख राजन ढकालले विधेयकको मस्यौदा तयारी अन्तरगत प्रदेश कृषि विकास विधेयक, २०७८ र प्रदेश पोल्ट्री विकास विधेयक, २०७८ बमोजिम प्रदेश पोल्ट्री विकास बोर्ड गठनको मस्यौदा तयारी गरिएको जानकारी दिए । त्यस्तै, प्रदेश वीउ विजन गुणस्तर केन्द्र स्थापना, अनुदान कार्यक्रमहरुको प्रभावकारिता अध्ययन गर्नका लागि अध्ययन समितिको गठन गरिएको उल्लेख गरे ।
मत्स्य प्रवद्र्धन नीति, दुग्ध प्रवद्र्धन नीति, अनुदानग्राहीको आचारसंहिता, कृषक वर्गीकरण कार्यविधि, पशुपालनलाई थप व्यवस्थित बनाउन असल व्यवस्थापन अभ्यास मापदण्ड जस्ता नीतिको विषयमा छलफल भइरहेको बताउदैं प्रवक्ता ढकालले प्रदेशका रैथाने जातका बाली, रासायनिक मलबारे, माछापालन, पिपिआर खोप आभियान, एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाको विषयमा काम भइरहेको जानकारी दिए ।
अनुसन्धान तथा प्रविधि विस्तार, सुशासन प्रवद्र्धन, अनुगमन र मुल्याङ्कन, मार्गचित्रमा उल्लेख भएका सरकारका न्युनतम साझा कार्यक्रमलाई अघि बढाउने कार्य भइरहेको ढकालले बताए । मन्त्रालयले बैमौसमी बर्षाका कारण धान बालीमा पुगेको क्षतिलाई कृषकलाई हिउँदमा लगाइने गहुँ/तोरीको बीउ अनुदान स्वरुप प्रदान गरिएको पनि बताए ।
पशु क्षेत्रमा भने एक लाख ५ हजार गाईभैंसी र बंगुरहरुमा खोरेत रोग नियन्त्रणका लागि खोप लगाइएको प्रवक्ता ढकालले बताए । त्यस्तै, भेडाबाख्रामा लाग्ने पिपिआर विरुद्धको खोप प्रदेशका १३ वटै जिल्लामा ८ लाख ३० हजार भन्दा धेरैलाई लगाइएको उनले जानकारी दिए । कार्यक्रममा मन्त्री बसुन्धरा हुमागाईँ, राज्यमन्त्री इन्द्रमाया गुरुङ, मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. रामप्रकाश प्रधान, कृषि विकास निर्देशनालयका प्रमुख रविन्द्र बहादुर प्रधानलगायतको सहभागिता रहेको थियो ।
