पूर्वाधार विकास रणनीतिको पुनरावलोकन आवश्यकः राज्यमन्त्री प्रजा

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार ०८:३८

नुवाकोट । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले राज्यबाट कार्यान्वयन हुने पूर्वाधार विकासका कार्यक्रमहरु नागरिकहरुको जीवनस्तर सुधार र समग्र आर्थिक विकाससँग समेत जोडिनुपर्ने भएकाले यस सम्बन्धि रणनीतिहरुमा पुनरावलोकन आवश्यक भएको बताएका छन् ।

पूर्वाधार निर्माणका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रमहरुमा एकरुपता नदेखिएकाले पारदर्शी र प्रभावकारी पूर्वाधार निर्माणका लागि एकीकृत र आवश्यकताहरुको प्राथमिकिकरणसहितको रणनीति निर्माण गरिनुपर्ने राज्यमन्त्री चेपाङले बताए ।

सोमबार नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयमा गरिएको स्वागतका क्रममा राज्यमन्त्री चेपाङले बागमती प्रदेश सरकार पूर्वाधार विकासमा केन्द्रित रहेको र बेरोजगार जनशक्तिलाई पूर्वाधार निर्माणमा लगाई उनीहरुलाई राष्ट्र विकासको मूलप्रवाहमा जोड्ने अभिप्रायका साथ अघि बढिरहेको समेत स्पष्ट पारे ।

त्यसक्रममा नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजु थापा र सचिव श्रीराम श्रेष्ठले जिल्लाको विकास निर्माणको अवस्था र प्रदेश सरकारले कार्यान्वयन गर्नुपर्ने योजनाहरुको सम्बन्धमा राज्यमन्त्री चेपाङको ध्यानाकर्षण गराएका थिए । यसअघि राज्यमन्त्री चेपाङले नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको अवलोकनका क्रममा क्याम्पसका पूर्वाधारहरु अव्यवस्थित रहेकाले ब्यवस्थित निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

राज्यमन्त्री चेपाङले सोमबार नै जिल्ला पूर्वाधार कार्यालय नुवाकोटको निरीक्षणका क्रममा प्रदेश सरकारबाट नुवाकोटमा संचालित पूर्वाधार विकासका योजनाहरुका बारेमा जानकारी लिँदै पूर्वाधार निर्माणको काम पारदर्शी र प्रभावकारी रुपमा समयमा सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिए ।