फागुन पहिलो साताभित्रै नयाँ पार्टी दर्ता गर्ने कमल थापाको तयारी, के–के छन् एजेण्डा ?
मकवानपुर । राप्रपा परित्याग गरेका कमल थापाले फागुन पहिलो साताभित्रै नयाँ पार्टी गठन गरिसक्ने बताएका छन् । आज विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले हिन्दुराष्ट, शुशासन र समृद्धिको एजेण्डा लिएर आफु निरन्तर लागिरहनेसमेत बताए । ‘नयाँ पार्टी गठनको लागि गृहकार्य सुरु गरिसकेको छु । ब्यापक परामर्श गरिरहेको छु । फागुन पहिलो साताभित्रै निर्वाचन आयोगमा विधिवत रुपमा नयाँ पार्टी दर्ता गर्नेछु ।’ उनले भने ।
उनले आफुलाई सहयोगी, शुभचिन्तक, पार्टीभित्र र बाहिरका बुद्धिजिवी साथीहरुले नयाँ पार्टी गठन गरेर अघि जान जिम्मेवारी दिएको बताए । हिन्दुराष्ट्र सुशासन र समृद्धि नयाँ यात्राको एजेण्डा हुने उनले स्पष्ट पारे । बिहीबार बसेको थापा पक्षको बैठकले नयाँ पार्टी दर्ता गर्ने र त्यसका लागि थापालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
उनले चुनाव चिन्ह के राख्ने भन्ने विषयमा भने केही खुलाएका छैनन् । उनले खडा गर्न लागेको पार्टीले राजसंस्थाको एजेण्डा नबोक्ने बताइएको छ । पुरानो एजेण्डा तोडेर नयाँ बाटो तय गर्ने तयारी थापाको छ । थापाले केही दिन अघि गृह जिल्ला हेटौंडा आएर राप्रपाबाट अलग रहने घोषणा गरेका थिए ।
स्रोतका अनुसार थापाले नयाँ खडा गर्ने पार्टीको चुनाव चिन्हको रुपमा हात्ती, तीन आँखा, कमलको फूल चर्चामा रहेका छन् । महादेवको त्रिनेत्र हुने अर्थमा तीन आँखा र गणेशसँग धार्मिक अर्थ जोडिएकोले हात्ती चिह्न छलफलमा आएको स्रोत बताउँछ । हिन्दुवादलाई मार्गनिर्देशक सिद्धान्तको रूपमा अघि सार्ने तयारीमा रहेका थापाले उक्त दर्शनलाई कुनै न कुनै प्रकारले प्रतिनिधित्व गर्ने चुनाव चिह्न चाहेका छन् ।
