‘राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्छ’

तु खबर संवाददाता
२०८० भाद्र ११, सोमबार १७:११
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने बताएका छन् ।

अध्यक्ष थापाले आगामी भाद्र २९ गते पार्टीले बृहत् विरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै मुलुकमा अब मौलिक संस्करणको राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने जिकिर गरेका हुन् ।

उनले मुलुकमा लुटतन्त्र चलिरहेको दाबी गर्दै त्यसको अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने बताए । उनले मुलुकको गौरवशाली इतिहास, धर्म संस्कृति पहिचानलाई समाप्त पार्न योजनाबद्ध रूपमा भएका षड्यन्त्र विरुद्ध नयाँ पुस्ता जागरूक हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष थापाले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक समृद्धि र सुशासनको निमित्त अहिलेको व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने बताए ।

सीमित दलका सीमित नेताहरूको सेटिङ्गमा राज्य व्यवस्था चल्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उनले मुलुकमा विदेशी प्रभाव र दबाब बढ्नुमा नेताहरूकै महत्वपूर्ण भूमिका रहेको दाबी गरे ।