दाङमा आगलागी हुँदा ५ जनाको मृत्यु, एक घाइते
घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना पुरुष र एक जना बालिका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, उनीहरुको धुवाँमा निसासिएर मृत्यु भएको हो । उनीहरुको शव आगो कम भएपछि बिहान साढे ७ बजेतिर निकालिएको हो ।
घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । मृतकहरुको हाल पहिचान हुन सकेको छैन । यस्तै, सोही आगलागीमा परेर एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ । विद्युतको मिटर पड्किंदा आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान भएपनि पुष्टि भइसकेको छैन । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ ।
