बागमती प्रदेश सरकारले स्थापना दिवस नमनाउने
मकवानपुर । बागमती प्रदेश सरकारले स्थापना दिवस नमनाउने भएको छ । सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै हरेक वर्ष माघ २९ गते मनाइँदै आएको प्रदेश सरकार स्थापना दिवस यस वर्षदेखि नमनाउने निर्णय गरेको जानकारी दिए ।
संघीय सरकारले पनि आफ्नो स्थापना दिवस मनाएको इतिहास नरहेकोले प्रदेश सरकारले पनि त्यसै अनुरुप अघि बढ्ने निर्णय गरेको उनले बताए । स्थापना दिवसमा वितरण हुने विभूषण, सम्मान तथा पुरस्कारहरु अन्य कुनै अवसरमा वितरण गर्ने र त्यसको लागि उपुक्त समय निर्धारण गरी प्रस्ताव ल्याउनको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई जिम्मेवारी दिएको उनले भनाई छ ।
यस्तै, बैठकले प्रदेशमा सार्वजनिक यातायातको भाडा कार्डबाट भुक्तानी गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ । यात्रुको सहजता, सरलता र चुस्ताको लागि क्यास लेस प्रविधि सुरु गर्न लागेको सरकारका प्रवक्ता खनालले बताए । उनका अनुसार, हालसम्म यात्रुवाहक सवारीले भाडा लिँदा खुद्रा रकम नभएको भन्दै बढी भाडा लिँदै आएकोले त्यसको न्युनिकरणको लागि र वर्तमान समयको आवश्यकता पनि भएकाले क्यास लेस भाडा भुक्तानी प्रविधि महत्वपूर्ण हुने भएकाले सरकार त्यसतर्फ लागेको उनले बताए । त्यस्तै, बैठकले भरतपुर महानगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि ५० प्रतिशत लागत रकम प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
