हेटौंडाको राप्तीतटमा मेसिनबाट शव जलाउन सुरु

तु खबर संवाददाता
२०७८ माघ २५, मंगलवार १८:०५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१०, राप्तीतटमा आजबाट मेसिनबाट शव जलाउन सुरु गरिएको छ । हिन्दु संस्कार अनुसार शव जलाउन मिल्नेगरी कुल ५४ लाख रुपैयाँ लागतमा मेसिन र २० लाख रुपैयाँ लागतमा फाउण्डेसन तयार गरेर आजबाट शव जलाउन सुरु गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

यससंगै शव जलाउनका लागि धेरै दाउरा थुपानुपर्ने बाध्यता, कहाँबाट दाउरा ल्याउने भन्ने समस्या, बेवारीसे शवहरु गाढ्नेकी जलाउने भन्नेलगायतका समस्याको अन्त्य भएको मेयर महतले बताए । भारतबाट ल्याइएको शवदाह मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत कम हुने र छोटो समयमै शवदाहको कार्य सकिने छ । शवको तौल अनुसार दाउरा एक सय केजीदेखि एकसय २० केजीसम्ममा एउटा शव दाह गर्न सकिने उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईँले बताए ।

मेसिनमा शवदाह गर्दा कुनै किसिमको शूल्क नलाग्ने पनि उपमहानगरले स्पष्ट पारेको छ । एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाह गरिने भएकोले आसपासका क्षेत्रमा दुर्गन्ध हुने समस्याको समेत समाधान हुनेछ ।