पूर्व केन्द्रीय अध्यक्ष कमल थापाले राप्रपा त्यागे
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् । आज गृह जिल्ला मकवानपुरबाट उनले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् । थापाले आफुलाई सहयोग गर्ने पार्टीका सबै नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन् ।
उनले भने ‘पार्टीको विभिन्न पदमा रहेर काम गर्दा, सहयोग पुर्याउनुहुने सबैमा आभार व्यक्त गर्दछु । केही दिनमा नै मेरो आगामी यात्रा तय हुनेछ । पहिले झैँ यहाँहरुको साथ र सहयोग प्राप्त गर्नेछु भन्ने विश्वास लिएको छु ।’ उनले आफ्नो नेतृत्वमा नयाँ दल खोल्ने संकेत गरे । तर, नयाँ दलको नाम, त्यसको एजेण्डालगायतका विषयमा भने थापाले केही पनि सार्वजनिक गरेका छैनन् ।
उनले राप्रपाका कसैसँग पनि आफ्नो वैरभाव नरहेको भन्दै सबैको भलो होस् भन्दै कामना पनि गरेका छन् । थापाले सोमबार राजधानीमा आफूपक्षीय नेताको भेला राखेर आफ्नो माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । उनले माग सम्बोधन नहुने हो भने आफूले विकल्प खोज्ने पनि बताएका थिए । निर्मल निवासले पार्टीलाई नितान्त राजसंस्था पुनःस्थापना गर्ने भजन मण्डली बनाउने प्रयास गरेको आरोप लगाएका थापाले निर्मल निवासले पार्टीको निर्वाचनमा गरेको हस्तक्षेपको उद्देश्य यही भएको जिकिर गर्दै आएका छन् ।
राप्रपा महाधिवेशनबाट थापा केन्द्रीय अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसंग झिनो मतान्तरले पराजित भएका थिए । निर्वाचनमा हार व्यहोरेसंगै थापाले पूर्व राजा ज्ञानेन्द्र र निर्वाचित अध्यक्ष लिङ्देनमाथि सामाजिक रुपमा नै टिक्काटिप्पणी गर्दै आइरहेका छन् । महाधिवेशनमा पराजित भएपछि थापा नयाँ दल खोल्ने तयारीमा लागेको स्रोत बताउँछ ।
यता, नयाँ दल खोल्ने तयारी गरेका थापालाई गृह जिल्लामा नै झड्का लागेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा राप्रपाबाट बकैया गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेकी लक्ष्मी जिम्बासहित ६० जना राप्रपाका नेता तथा कार्यकर्ता आज नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

