कमल थापाले स्वार्थ त्याग्न नसक्दा राप्रपा त्याग्न बाध्य भयौँ –नेतृ जिम्बा
मकवानपुर । राप्रपा मकवानपुरकी नेतृ लक्ष्मी जिम्बाले मंगलबार नेपाली कांग्रेस प्रवेश गर्दै राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कमल थापाकै कारण आफु राप्रपा त्याग्न बाध्य भएको बताएकी छिन् । थापाले व्यक्तिगत स्वार्थ त्याग्न नसक्दा आफु जस्तै सयौँ कार्यकर्ता राप्रपा त्याग्न बाध्य भएको उनको भनाई छ ।
‘उहाँ चुनावमा पराजित भएपछि अनावश्यक र गलत टिकाटिप्पणी गर्दै हिँडिरहनु भएको छ । कार्यकर्ताको मतको सम्मान गर्न सक्नु भएको छैन । त्यस कारण हामीले पार्टी छाडेका हौं ।’, उनले भनिन्,‘आफ्नो स्वार्थ अनुसार कमल थापा अगाडि बढ्न खोजेको कारण अब नेपालमा राप्रपाको भविष्य छैन ।’
उनले आफू जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको भन्दै सोही अनुसारको जिम्मेवारी दिन आग्रह गरेकी छिन् । कांग्रेसले अघि र पछि पार्टीमा आवद्ध भएकै आधार विभेद गर्न नहुने उनले बताइन् । उनले भनिन् ‘हामी आजबाट कांग्रेसमा आवद्ध भएका छौँ । कांग्रेसको संगठन मजबुद बनाउँदै लैजाने कुरामा हामी प्रतिवद्ध भएर अघि बढ्ने छौँ । हामीलाई निष्कृय नबनाइयोस्, पछि आएको भनेर विभेद नगरियोस् ।’
उनले कम्युनिष्ट पार्टीहरुले पनि मुलुकको हितका लागि उल्यख्य काम गर्न नसकेको भन्दै टिप्पणी गरिन् । मंगलबार जिम्बासहित राप्रपाका ६० जना कांग्रेस प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई कांग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँँले स्वागत गरेका हुन् ।
