मकवानपुरको तीन स्थानीय तहमा सक्रिय संक्रमितको संख्या शुन्य
मकवानपुर । मकवानपुरको तीन वटा स्थानीय तहमा कोरोना संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लाको राक्सिराङ, इन्द्रसरोवर र कैलाश गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको हो ।
पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमितको दर घटेको छ । सोमबार ६० जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा १० जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ११८ जना रहेका छन् । जसमा हेटौंडा उपमहानगरका ९० जना, थाहानगरपालिकाका १३ जना, भीमफेदी गाउँपालिकाका ५ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकाका ४/४ जना, बागमती र बकैंया गाउँपालिकाका एक/एक जना रहेका छन् ।
जिल्लामा हालसम्म १७ हजार ७४७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १७ हजार ६१४ जना संक्रमणमुक्त भएका छन् भने १७० जनाको मृतयु भएको छ । जिल्लामा कोभिडविरुद्धको दुबै मात्रामा खोप लगाउनेको संख्या दुई लाख २८ हजार ३६० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
