कांग्रेस मकवानपुरका कार्यबाहक सभापति लामिछानेले आज पदभार ग्रहण गर्ने

तु खबर संवाददाता
२०७८ माघ २०,बिहीबार ११:५९

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहिबार पदभार ग्रहण गर्ने भएका छन् । कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापति निर्वाचित भएपछि स्वत जिल्लाको कार्यबाहक सभापतिको जिम्मेवारी पाएका लामिछानेले आज दिउँसो १ः३० बजे औपचारिक रुपमा पदभाग ग्रहण गर्ने भएका हुन् ।

पार्टीको १४ औँ महाधिवेशन अन्तरगत मंसिर अन्मित साता सम्पन्न बागमती प्रदेश अधिवेशनबाट मकवानपुर सभापति बानियाँ प्रदेश सभापति निर्वाचित भएपछि जिल्ला उपसभापति रहेका लामिछानेले कार्यबाहकको जिम्मेवारी पाएका थिए ।

केहि दिन अघि मात्रै प्रदेश सभापति बानियाँले जिल्लाका पदाधिकारीहरुलाई पनि जो जुन पदमा छ, सोही पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए । जिल्लाको निर्वाचन नभएसम्मको लागि उपसभापतिलाई भने कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

पदभार ग्रहण कार्यक्रममा १० वटै पालिकाका सभापति, उपसभापति एवम् पदाधिकारीहरु, क्षेत्रीय सभापतिहरु, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधिलगायत पार्टीका अन्य कार्यकर्ताहरुको उपस्थिति रहने कार्यक्रम रहेको छ । पदभार पश्चात कार्यबाहक सभापतिको अध्यक्षतामा जिल्ला पदाधिकारी तथा कार्यसम्पादन समितिको बैठक बस्ने समेत जनाइएको छ ।