हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार १७:१७

मकवानपुर । हेटौंडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । कोरोना संक्रमित बिरामीलाई अक्सिजनको अभाव हुन नदिन दैनिक २५० सिलिन्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ ।

अस्पतालका अध्यक्ष राजेश प्रसाईंका अनुसार, अमेरिकी सरकारको सहयोगमा संघीय स्वास्थ्य मन्त्रालयले रु तीन करोडको लागतमा दैनिक १२५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु गरेको हो । उद्योग संघ मकवानपुरले ११० अक्सिजन सिलिन्डर र हेटौंडा उपमहानगरपालिकाले दैनिक १५ सिलिन्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताए ।

अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौंडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उनको भनाइ रहेको छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न धेरै मेहनत गर्नुपरेको बताउँदै उक्त अस्पतालमा भन्टिलेटरसहित २० शय्या तयारीको अवस्थामा रहेको बताइएको छ ।