झगडा हुँदा युवकको मृत्यु, २ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित ओरालो सडकमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । गएराति मित्रपार्क आसपासमा बस्ने युवकहरूको बीचमा झडप हुँदा भाग्ने क्रममा गौरीघाट जाने ओरालोतर्फको अग्लो सडकबाट लडे अन्दाजी २७ वर्षीय एक युवकको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
झगडा गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फक्राउ पर्नेहरुमा ३९ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षका सुरेश दर्नाल रहेका छन् । मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आरोपीहरुविरुद्ध ज्यानसम्बन्धी कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत गौशालाले अनुसन्धान गरिरहेको छ । मदिरा सेवनपछि उनीहरुको बीचमा झगडा भएको प्रहरीको प्रारम्भी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार, आरोपी सुरेश दर्नालले मृतकलाई नचिन्ने दाबी गरेका छन् ।
