न्युरेनी सामुदायिक वन उपभोक्ता समुहको ३१ औं वार्षिक साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७८ माघ १६, आईतवार १०:१३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा रहेको न्युरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समुहको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा संस्थाका अध्यक्ष ज्ञानबहादुर क्षेत्रीको अध्यक्षता तथा ७ नम्वर वडाध्यक्ष राजन थापाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष क्षेत्रीले समुहको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव शान्ति चौलागाईंले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बिजय गौतमले आर्थिक प्रतिवेदन सभामा पेश गरेका थिए । संस्थाले साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा सम्मान तथा पुरस्कृत समेत गरेको छ । संस्थाले जेष्ठ नागरिकतर्फ भानुभक्त पौडेल र धनकुमारी दाहाललाई पौष्टिक आहार, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको थियो ।

यस्तै, कृषि र पशुपालनतर्फ सुर्यबहादुर पाख्रीनलाई कृषि औजार र सरसफाइतर्फ कृष्णबहादुर थापालाई सरसफाइ सामाग्रीसहित प्रमाणपत्रले सम्मान गरिएको थियो भने संस्थाको गतिविधिलाई संचारमाध्यममार्फत प्रचारप्रसार गरेको भन्दै पत्रकारद्वय पुष्पराज अधिकारी र भिमसेन पौडेललाई नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो । यसैगरी, बनक्षेत्रमा लागेको डडेलो नियन्त्रणमा उल्लेखनीय भुमिका निर्वाह गर्ने उपभोक्ता सुभद्रा घिसिङ र सरिता घलानलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।