स्थानीय तहको निर्वाचन वैशाखमै गरे पनि हामी सामना गर्छौँः माधव नेपाल

तु खबर संवाददाता
२०७८ माघ १५, शनिबार १४:४८
file-photo

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भएको अवस्थामा पनि आफुहरु सामना गर्न तयार रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित पार्टी निकटको निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादी निर्वाचनसंग नडराउने प्रष्ट पारे ।

‘स्थानीय तहको निर्वाचन वैशाखमा, जेठमा, असारमा वा असोजमा जहिले गर्दा पनि हामी तयार नै छौँ । एकीकृत समाजवादी निर्वाचनसंग डराउने कुरै छैन ।’ नेपालले भने । उनलेसत्तारुढ गठबन्धनले जहिले भन्छ त्यही मितिमा चुनावमा जान आफूहरु तयार रहेको बताए । गठबन्धनको निर्णयमा आफ्नो पार्टीको साथ सहयोग रहने बताउँदै उनले कुनै शंका उपशंका गर्न जरुरी नभएको प्रष्ट पारे । अध्यक्ष नेपालले २०७४ सालमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन असोज २ गते भएकाले त्यसैलाई आधार मानेर ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राखे ।