जिल्ला अस्पताल डोटीका कर्मचारी मृत अवस्थामा फेला
डोटी । जिल्ला अस्पताल डोटीका कर्मचारी मृत अवस्थामा फेला परेका छन् । अस्पतालमा कार्यालय सहयोगीको रुपमा कार्यरत दिपायल सिलगढी नगरपालिका वडा नम्वर ७ उडीतोला घर भएका ४५ बर्षीय भक्त कोली मृत अवस्थामा फेला परेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।
मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरूको चिरफारको काम गर्दै आएका थिए । आफन्तहरू अहिलेसम्म नपुगेकाले उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको जनाइएको छ । उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
