अर्थ राज्यमन्त्रीका निजी सुरक्षाकर्मी मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७८ माघ १३, बिहीबार ०८:३६

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी बुधबार आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार, सुदूरपश्चिमको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पीएसओ अर्थात निजी सुरक्षाकर्मी समेत रहेका जोशी कोठामा मृत अवस्थामा फेला परेको हो । जोशी सन्चो नभएर आइतबारदेखि घरमै आराम गरिरहेका थिए । अस्वस्थताकै कारण जोशी श्रीमती र छोरासँगै टीकापुर आफन्तको विवाहमा नगएर घरमै आराम गरिरहेको परिवारबाट जानकारी आएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।