मकवानपुरका ४६ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरका थप ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (बुधबार) एकैदिन ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो २४ घण्टामा ११३ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सो अवधिमा ४२ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा र ७१ जनाको एन्टीजेन परीक्षण गर्दा २७ जनामा संक्रमण पष्टि भएको हो । यससँगै जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ८४ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कुनै पनि व्यक्तिको निधन भएको छैन ।
