राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सावजनिक गर्ने
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने भएको छ । निर्वाचन आयोगले एक महिनापछि रिक्त हुने १९ पदका लागि हुन लागेको राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
सात वटै प्रदेशमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । त्यसपछि हुने मतगणनाको व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको छ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ सदस्यको पदावधि आगामी फागुन २० गते सकिने भएकाले आज निर्वाचन गर्न लागिएको हो । राष्ट्रियसभाका नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ गरी १९ सदस्यको पद रिक्त हुने भएको हो । पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान अनुसार आज १९ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनमा प्रदेशसभा सदस्यहरु र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु सहगि हुनेछन् । सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।
