सर्वोच्च अदालत : आजदेखि अत्यावश्यक मुद्दामा मात्र सुनुवाइ हुने

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार १२:४९

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि अत्यावश्यक मुद्दामा मात्र सुनावाइ हुने भएको छ । सर्वोच्चको मंगलबार बसेको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढदै गएका कारण आजदेखि सेवा कटौती गर्ने निर्णय थियो । बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमित रूपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको छ ।

अदालतका प्रवक्ता बाबुराम दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा आजदेखि यही माघ १८ गतेसम्मका लागि सेवा कटौती गर्ने निर्णय भएको उल्लेख छ । सो अवधिमा मुद्दा फिर्ता, तामेली एवम् मिलापत्रसम्बन्धी कामकारबाही नियमित रूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदन उपर सुनुवाइ हुनेछ । त्यस्तै, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ ।