हेटौंडा अस्पतालका मेसु सापकोटासहित ३६ कर्मचारीलाई संक्रमण

तु खबर संवाददाता
२०७८ माघ ४,मंगलवार १७:५५

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल) का ३६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत विहीबारदेखि आजसम्म ३६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए ।

अस्पतालको ४ जना डाक्टर, ११ जना नर्स, अन्य स्वास्थ्यकर्मीसहित ल्याबका १३ जना, प्रशासनिक र कार्यालय सहयोगीहरु ८ जनामा गरी कूल ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको अध्यक्ष प्रसाईले बताए । अस्पतालका मेडिकल सुुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई समेत संक्रमण पुष्टि भएको उनको भनाई छ ।

मकवानपुरमा कोरोना संक्रमणदर बढिरहेको अवस्थामा इमरजेन्सी भएमा मात्र अस्पताल आउन अस्पताल प्रशासनले आम नागरिकहरुलाई आग्रह गरेको छ । हामीलाई माघ महिनाभर अस्पतालको सेवामा केही समस्या उत्पन्न भएता पनि विभिन्न नीजि अस्पताल तथा स्थानीय तहहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु परिचालन गराउनको लागि सम्बन्धित निकायलाई जानकारी गरी आवश्यक पहल गरिने प्रसाईले बताए । संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आम नागरिकसमक्ष आग्रह गरिएको छ । फ्रन्ट लाइनमा रहेका काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलगायतलाई आजबाट बुस्टर डोज लगाइएको छ ।