एकैदिन थपिए १० हजार २५८ कोरोना संक्रमित

तु खबर संवाददाता
२०७८ माघ ४,मंगलवार १७:४०

काठमाडौँ । पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र ४ हजार ९५६ जनाको एन्टीजेन परीक्षण गर्दा १५२८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित छन् । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि त्यसको न्यूनिकरणको लागि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गर्न आम नागरिकलाई आग्रह गरेको छ । देशका विभिन्न जिल्लाहरुमा फ्रन्ट लाइनमा रहेका काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप (बुस्टर डोज) लगाउन सुरु गरिएको छ ।