आगामी वर्षको क्यालेण्डर माघ १५ गतेदेखि बजारमा आउने

तु खबर संवाददाता
२०७८ माघ ४,मंगलवार १३:३७

काठमाडौं । आगामी वर्षको क्यालेण्डर यही माघ १५ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को लागि तयार पारिएको पात्रो माघ १५ गतदेखि बजारमा आउने जनाएको छ ।

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार आगामी वर्षको लागि समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । जसमा तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग रहेका छन् ।

गत वर्षदेखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनेपनि ठोस काम हुन सकेको छैन । समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो । यस वर्ष भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो ।