गठबन्धन दलको बैठक : स्थानीय चुनाव बैशाखमा गर्न सहमत

तु खबर संवाददाता
२०७८ माघ ४,मंगलवार १२:४२
file-photo

काठमाडौं । सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सकिएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सकिएको हो । बैठकमा स्थानीय निर्वाचन आगामी बैशाखमा गर्नेबारे सहमत भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

सरकार संचालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसका कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि आगामी जेठ ५ गते सकिँदैछ । त्यसअघि स्थानीय तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले आगामी बैैशाख १४ र २२ गतेको मिति सिफारिस गरेको छ । तर, दलहरूमा तीनै तहको निर्वाचन एकै पटक गर्ने कि भन्ने बहस समेत भएकाले मिति तोक्न ढिलाइ हुँदै आएको छ । आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठक अघि समन्वय समितिको बैठक बसेर मिति तोक्न सिफारिस गर्ने र सिफारिस अनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोक्ने तयारी गरेको बुझिएको छ ।