गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन
कास्की । गण्डकी प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा संचालन हुने सार्वजनिक सवारीमा भाडा सिफारिस समितिको प्रतिवेदनका आधारमा भाडा बढाएको सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए ।
लामो समयदेखि पेट्रोलियम पदार्थ र सवारीका साधनका पार्ट्स लगायतमा चर्को मुल्यवृद्धि भइसक्दा समेत सार्वजनिक सवारीको भाडा समायोजना भएको थिएन । प्रदेश सरकारले व्यवसायीको चर्को असन्तुष्टिलाई सम्बोधन गर्दै गण्डकी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक बस, ट्रक, ट्याक्सी लगायतका साधनको भाडादर समायोजन गरिएको हो ।
मन्त्री खड्काका अनुसार समायोजन भएको भाडा दर अनुसार प्रदेशभित्र लामो दुरीमा चल्ने यात्रुबाहक बसले यात्रुसँग साविकको भाडामा थप २३.५१ प्रतिशत भाडा थप गरेर लिन पाउने छन् । यसैगरी, नगर बसमा यात्रा गर्ने यात्रुसँग व्यवसायीले साविकको भाडामा थप २२.५५ प्रतिशत भाडा थप गरेर लिन पाउने छन् । ट्रकको भाडा पनि १४.५७ प्रतिशतले बृद्धि गरिएको छ । भाडामा संचालन हुने ट्याक्सी मिटरमा चलाउनु पर्ने छ । ट्याक्सीले सुरुको १५ किलोमिटरको यात्रासम्म ८० रुपैयाँ भाडा लिन पाउने छन । त्यसपछि थप २ सय मिटरमा १० रुपैयाँका दरले भाडा थप हुँदै जानेछ ।
