मकवानपुरमा सवारी दुर्घटना: रेग्मीको मृत्यु

तु खबर संवाददाता
२०७८ माघ २,आईतवार १३:०१
File Photo

मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित सडकमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको हो ।

आइतबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना २ क ४३१ नम्बरको खाली टिपरले सोही दिशामा रहेको ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुर १२ बस्ने ५७ बर्षीय महेन्द्र रेग्मी र मोटरसाइकलमा सवार सोही ठाउ बस्ने ५५ बर्षीय तारादेवी रेग्मी शरीर घाइते भएको र दुवैलाई उद्धार गरी उपचारको लागि चितवन लगिएकोमा महिलाको उपचारको क्रममा मृत्यु भएको रिमालले बताए । ठक्कर दिने टिपर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।