नवोदयमा ३ दिने कथा लेखन कार्यशाला सुरु

तु खबर संवाददाता
२०७८ पुष २८, बुधबार १९:३९

मकवानपुर । विद्यार्थीको लेखन क्षमता बृद्धि विस्तार गर्ने उद्देश्यका साथ हेटौंडा–४ स्थित नवोदय शिशु सदन सेकेण्डरी स्कुलले ३ दिने कथा लेखन कार्यशाला सुरु गरेको छ । काठमाडौं पब्लिकेशनसँगको समन्वयमा विद्यालयले कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी कार्यशाला सुरु गरेको हो ।

विद्यालयका निर्देशक दिपेश जोशीको सभाध्यक्षता तथा सर्जक संजाल मकवानपुरका संयोजक एवम् साहित्यकार निमेश निखिलको प्रमुख आतिथ्यतामा बुधबार कार्यशालाको उद्घाटन गरिएको हो । साहित्यमार्फत् विद्यार्थीलाई समाज रुपान्तरणको कार्यमा अग्रसर हुन प्रेरणा दिने उदेश्यका साथ कार्यशाला सुरु गरिएको विद्यालयले जनाएको छ ।

बालबालिकाहरुमा लेखनशैलीको विकास गराउने र उनीहरुको क्षमतालाई समाज रुपान्तरणका लागि प्रयोग गर्न प्रेरित गर्ने परिकल्पनाका साथ विद्यालयले सो कार्यक्रम अघि सारेको हो । कार्यशालाले साहित्य, कला क्षेत्रको विकासमासमेत थप प्रेरणा प्रदान गर्ने विद्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निखिलले कार्यशालाले विद्यार्थीको प्रतिभा बाहिर ल्याउन अग्रणी भूमिका खेल्ने बताए । उनले नवोदयले साहित्य र कला क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको र अन्य विद्यालयहरुले पनि यसलाई अनुशरण गर्दै आवश्यक कदम चाल्नुपर्ने सुझाव दिए । बालबालिकाहरुले पनि सिकेका कुरालाई व्यवहारमा उतारेर समाज परिवर्तनका लागि भूमिका निर्वाह गर्नुपर्ने निखिलले बताए ।

बाल साहित्य लेखक अनुराधा शर्माले ३ दिनसम्म कार्यशालाकोे सहजिकरण गर्ने छिन् । कार्यशाला समापन भएपछि विद्यार्थीको सामुहिक उपन्यास प्रकाशन गर्ने उद्देश्य रहेकोे कार्यक्रम संयोजक सिएम रिमालले जानकारी दिएका छन् । कार्यशालामा २० जना बालबालिकाको सहभागिता रहनेसमेत उनले बताए । नवोदयले बालबालिकाको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ यसअघि पनि विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।