बागमती प्रदेश : रेडियोको नविकरण शुल्कमा छुट दिने निर्णय

तु खबर संवाददाता
२०७८ पुष २७, मंगलवार १६:३७
बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, हेटौंडा । तस्बिरः तु खबर ।

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशमा संचालन रहेको एक हजार वाटसम्म क्षमता भएका रेडियोहरुको नविकरण शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिए ।

उनका अनुसार, प्रदेश सरकारले रोयल्टीमा समेत ५० प्रतिशत छुट दिने भएको छ । यसअघि रोयल्टी बापत २ प्रतिशत दिनुपर्ने भए पनि अबदेखि भने १ प्रतिशत मात्र तिनुपर्नेछ । कर बुझाउने अवधि पनि एक महिना थप गरी माघ मसान्तसम्म बुझाउन सक्ने व्यवस्था गरिएको छ । केही समय अगाडि स्वतन्त्र रेडियोहरुको छाता सङ्गठन ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपालले नवीकरणको छुटको माग गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।