दुर्घटनामा गौतमसहित दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष २६,सोमबार ०९:४६

काठमाडौं । काठमाडौंका मिनभवन र बिजुलीबजारमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मिनभवनमा बागमती प्रदेश ०२–०३१ प ७५६२ नम्वरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । यसैगरी, बिजुलीबजारमा गएराति साढे ११ बजे नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको मृत्यु भएको छ ।

बिजुलीबजारमा रहेको मायालु रोधीघरमा साथीहरुसँग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा विपिनमा सडकमा निस्किएका थिए । त्यहीबेला विपिनलाई टिपरले ठक्कर दिएको र सिभिल अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरले जनाएको छ । ठक्कर दिने टिपरको नम्बर नखुलेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।