राष्ट्रियसभा निर्वाचन : आजदेखि आचारसंहिता लागू

तु खबर संवाददाता
२०७८ पुष २६, सोमबार ०८:२१

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) देखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गरेको हो । आयोगले निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालना गर्न गराउन सरोकारवालाहरुलाई निर्देशन समेत दिएको छ ।

आचारसंहिताको पालना गर्नु सम्बन्धित सबैको कानूनी तथा नैतिक दायित्व भएको भन्दै आयोगले यदि उल्लंघन भएमा कानूनी कारवाही हुने बताएको छ । आचारसंहिता लागू भएपछि कुनै पनि पार्टी वा उम्मेदवारलाई भोट माग्न पाइँदैन । आचारसंहिता सरकार, सरकारका मन्त्री, कर्मचारी, राजनीतिक दल, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पर्यवेक्षक, सरकारी अर्धसरकारी र निजी संघसंस्था लगायतमा लागू हुने निर्वाचन आयोगले जनाएको छ ।