१५ माघसम्म विद्यालय बन्द गर्ने सीसीएमसीसीको निर्णय

तु खबर संवाददाता
२०७८ पुष २६, सोमबार ०८:१६

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आगामी माघ १५ गतेसम्म आधारभूत र माध्यमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सीसीएमसीसीको आइतबार बसेको बैठकले सो निर्णय लिएको हो । विद्यालयहरुलाई माघ १५ गतेसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ ।

‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले भनिन्, ‘निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिश गरिसकेका छौं ।’ विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी तथा १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।

सीसीएमसीसीको निर्णयअनुुसार पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरु रोकिने छैन । तर, जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै डेज आधारको बसाइमा परीक्षा गर्नुपर्नेछ ।