सहकारी विकासको लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री मोक्तान

तु खबर संवाददाता
२०७८ पुष २५, आईतवार ०८:०९

मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहकारीको विकासको लागि प्रदेश सरकारले महत्वपूर्ण भुमिका खेल्ने बताएकी छन् । शनिबार हेटौंडा उपमहानगरपालिका–१३, शिखरपानीस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री मोक्तानले सहकारी प्रत्यक्ष जनतासँग जोडिएको संस्था भएकाले प्रदेश सरकारले सहकारीको विकासको लागि महत्वपूर्ण भुमिका खेल्ने बताएकी हुन् ।

उनले सहकारी ऐनमा संशोधन गर्न सकिने भन्दै त्यसका लागि पहल गर्ने बताईन् । ‘सहकारी ऐनमा केही समस्या छ भने पुर्नविचार गर्नुपर्छ, गर्न सकिन्छ,’ उनले भनिन्, ‘प्रदेश सरकारले ऐन, कानून बनाउँदा पत्रकार, यातायात, बालबालिका, महिलाको संघसंस्थासँग छलफल समेत गर्ने गरेको छ ।’

दुग्ध उत्पादकसहित धेरै किसानलाई प्रदेश सरकारले प्रत्यक्ष अनुदान र प्रोत्साहन रकम दिई रहेको भन्दै उनले जनतालाई सरकारले धेरै लाभ दिन किसान लक्षित कार्यक्रमका लागि सहकारीमार्फत् सुझावको अपेक्षा रहेको पनि बताईन् । गाउँगाउँमा रहेको कृषि सहकारीहरु उत्पादनमा जोडिएकोमा खुशी व्यक्त गर्दै उनले उत्पादन बढाउँदै उद्योगसँग जोड्न पनि आग्रह गरिन् ।

कार्यक्रममा सहकारीले जेष्ठ नागरिक सम्मान, जोडी सम्मान, असल बचतकर्ता, उत्कृष्ट बाल बचत, उत्कृष्ट कृषकहरुलाई नगदसहित सम्मान गरिएको थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष महारत्न लामाको विशेष आतिथ्य रहेको कार्यक्रम सहकारीका अध्यक्ष राजु दर्लामीको सभाध्यक्षतामा भएको थियो ।

हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, जडिबुटी सहकारी संघ मकवानपुरका सचिव लिलाकुमार घलान, स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिपेश थिङ, नारायणी संघ हेटौंडाका निवर्तमान अध्यक्ष बद्री प्रसाद चौलागाई, जनप्रिय प्राविधिक शिक्षालय, हटियाका अध्यक्ष रमेश खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए । ३ करोड ३५ लाख ७६ हजार रुपैंया बचत र ३ करोड २६ लाख ४९ हजार रुपैंया लगानी रहेको सहकारीमा ७ सय ८९ जना शेयर सदस्य रहेको बताईएको छ ।