एमाले मकवानपुरका अध्यक्षमा लम्साल र श्रेष्ठ भिड्दै

तु खबर संवाददाता
२०७८ पुष २२, बिहीबार १५:५७

मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षका लागि दुई जनाबीच प्रतिस्प्रधा हुने भएको छ । यही पुस २३ र २४ गते हेटौंडामा हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष बद्री लम्साल र सचिव एकालाल श्रेष्ठबीच प्रतिस्प्रधा हुने भएको हो ।

एमाले विभाजन भएपछि तत्कालीन अध्यक्ष मुनु सिग्देल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि लम्सालले अध्यक्षको जिम्मेवारी पाएका थिए । लम्साल एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल पक्षधर रहे पनि विभाजनको बाटोमा जान नहुने भन्दै एमालेमै रहेर संघर्ष गरिरहेका थिए ।

यस्तै, हालका सचिव श्रेष्ठ भने एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन् । त्यसो त एमालेभित्र आन्तरिक द्वन्द्व चलिरहेको अवस्थामा तत्कालीन अध्यक्ष सिग्देललाई हटाएर उनी केपी ओली पक्षबाट केही समय अध्यक्ष बनेका थिए ।

अधिवेशनका लागि एमालेले जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधि छनोट गरिसकेको छ । अधिवेशनका लागि जिल्लाको १० वटै स्थानीय तहबाट प्रतिनिधि छनोट सम्पन्न गरी तयारी तीव्रता दिएको छ । अधिवेशनका लागि जिल्ला कमिटीका सदस्यहरु र प्रतिनिधि गरी ८ सय जनाको सहभागिता रहने छ । अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले गर्ने कार्यसूची रहेको छ । अधिवेशनले जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित १०५ जनाको जिल्ला कमिटी चयन गर्ने जनाइएको छ ।