मकवानपुरको विभिन्न स्थानीय तहमा कोरोनाविरुद्धको खोप अभियान संचालन
मकवानपुर । जिल्ला खोप समन्वय समिती मकवानपुरले जिल्लामा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउने अभियान संचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बसेको समितिको बैठकले जिल्लामा खोप नलगाउँनेको संख्या अझै धेरै रहेकाले खोप अभियानलाई तिब्र रुपमा अगाडी बढाउन अभियान संचालन गर्ने निर्णय गरेको हो ।
जिल्लामा ५३ प्रतिशतले मात्र कोभिडविरुद्धको खोप लगाएको तथ्याङ्क रहेकाले बाँकी रहेकाहरुलाई पनि अनिवार्य खोप लगाउन आग्रह गर्दै खोप अभियान संचालन गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए । जिल्लाको मनहरी गाँउपालिका, राक्सिराङ गाँउपालिका, कैलाश गाँउपालिका र बकैया गाँउपालिकामा अधिकांशले खोप नलगाएको देखिएकाले उक्त स्थानीय तहमा खोप अभियान संचालन गर्ने तयारी भएको प्रजिअ पाण्डेले बताए ।
बैठकले बिहिबारबाट जिल्लाको राक्सिराङ, कैलाश, मनहरी, बकैयालगायतका गाउँपालिकाहरुमा विशेष खोप अभियान सञ्चालन गर्ने, स्थानीय तहका विभिन्न सरकारी कार्यालय, विद्यालय मानिसहरुको भिडभाड हुने स्थानहरुमा हेल्थ डेस्क स्थापना गर्ने तथा खोेप नलगाएका स्थानीयहरुलाई खोप लगाउन उत्प्रेरित गर्नेलगायतको निर्णय गरेको जनाइएको छ ।
