संवैधानिक उपलब्धिको रक्षा गरौँः सामाजिक विकासमन्त्री मोक्तान

तु खबर संवाददाता
२०७८ पुष २१, बुधबार १९:३५

मकवानपुर । बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रतिगमनकारीहरुबाट हाल देशमा प्राप्त उपलब्धिविरुद्ध आवाज उठाउने काम भइरहेको भन्दै परिवर्तनका पक्षधरहरु यसको रक्षाका लागि लाग्नुपर्ने बताएकी छिन् । बुधबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) वागमती प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले जनताले उपलब्धिका रुपमा प्राप्त गरेको अधिकार रक्षा गर्दै थप अधिकारका लागि आ–आफ्नो तर्फबाट पहल गर्नुपर्ने उल्लेख गरिन् ।

उनले राज्यको तर्फबाट सबैलाई समान व्यवहार र समान अवसरको वितरण हुनुपर्ने धारणा व्यक्त गरिन् । उनले आदिवासी जनताजी पत्रकारहरुको दोस्रो अधिवेशनले जनजातिको मात्रै नभई समग्र जनताको हितमा कलम चलाउन सक्ने नेतृत्व चयन गरोस् भन्दै शुभकामना दिइन् । हेपिएका, दबिएका, पछाडी परेका तथा आवाजविहिनहरुको आवाज बन्दै पत्रकारहरुको पेशागत हितका लागि फोनिजले काम गर्नुपर्ने र त्यसका लागि आफुले पनि सहयोग उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरिन् ।

त्यस्तै बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले सञ्चार क्षेत्रप्रति प्रदेश सरकार सकारात्मक रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए । उनले यसअघि प्रदेश सरकारले आफैं मिडिया चलाउने गरी बजेट विनियोजन भएकोमा हालको सरकारले उक्त व्यवस्था खारेज गर्नेतर्फ प्रक्रिया अघि बढाइसकेको उल्लेख गरेका छन् । स्थानीय मिडियाको प्रर्वद्धनमा पनि सहयोग पुर्याउने आश्वासन दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका खानेपानी तथा ऊर्जामन्त्री वसन्त मानन्धरले सञ्चारमैत्री वातावरण निर्माणका लागि आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्ने बताएका छन् । पछिल्लो समय समावेशिता औपचारिकतामा मात्र सीमित हुन थालेको भन्दै यस विषयमा सञ्चारकर्मीहरु चनाखो बन्न उनले आग्रह गरेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले संघीयता कार्यान्वयनमा रहेकाले सबैको सकारात्मक सहयोगमा सफल हुँदै जाने बताए ।

अधिवेशनको औपचारिक कार्यक्रमका अवसरमा तामाङ, मगर, गुरुङ, थारु समुदायको पहिचान झल्कने गरी झाँकी तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । अधिवेशन उद्घाटन अघि फोनिजले प्रभातफेरी गरेको थियो । अधिवेशनमा फोनिज केन्द्र तथा बागमती प्रदेशका प्रतिनिधि, पत्रकार महासंघका प्रतिनिधि, जातीय संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।