फोनिज बागमती प्रदेशको अधिवेशनमा हेटौंडामा हुने

तु खबर संवाददाता
२०७८ पुष ७, बुधबार ०९:१४

मकवानपुर । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको दोस्रो अधिवेशन हेटौंडामा हुने भएको छ । फोनिज बागमती प्रदेशका अध्यक्ष पेमा लामाको सभाध्यक्षतामा मंगलबार रामेछापमा बसेको बैठकले आगामी पुस २१ र २२ गने प्रदेश अधिवेशन हेटौंडामा गर्ने निर्णय गरेको हो ।

उक्त अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष लामाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा प्रदेशका सम्पूर्ण पदाधिकारी, जिल्ला शाखाका अध्यक्ष र निवर्तमान अध्यक्षहरु सदस्य रहने निर्णय गरिएको छ । बैठकले पूर्ण भत्त दुवालको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा फोनिज मकवानपुर शाखा अध्यक्ष अशोक सुजन श्रेष्ठ, निवर्तमान अध्यक्ष कृष्ण सारु मगर, चितवनका अध्यक्ष रमेश राना मगर र अनुशासन समिति संयोजक दिलबहादुर लामा रहेका छन् ।

अधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन समितिको जिम्मेवारी संस्थागत सचिव श्याम राना मगर, डोल्मा शर्मा र पष्पा रायलाई दिइएको छ । खाना तथा आवास व्यवस्थापन समितिमा फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठको नेतृत्वलाई. जिम्मेवारी दिइएको छ ।
यसैगरी अतिथि स्वागत सत्कार समितिमा उपाध्यक्ष युवराज श्रेष्ठको संयोजकत्वमा रामशरण माझी र मनिता राना सदस्य रहने गरी जिम्मेवारी दिइएको छ ।

दिलबहादुर लामाको संयोजकत्वमा विनोद श्रेष्ठ र भुपेन्द्र राना मगर सदस्य रहनेगरी सांस्कृतिक व्यवस्थापन समिति गठन गरिएको छ । प्रचारप्रसार समितिमा धादिङ जिल्ला अध्यक्ष शंकर श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिइएको छ । उक्त समितिका सदस्यहरुमा नवराज श्रेष्ठ, दिलबहादुर तामाङ रहेका छन् । अधिवेशनमा सहभागिताका लागि आयोजक समितिका सदस्यहरुलाई ३ हजार रुपैयाँ, अन्य प्रतिनिधिका लागि २ हजार रुपैयाँ, पर्यवेक्षकका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ । साथै सदस्यता नवीकरण र सदस्यता शुल्कबापत ५० प्रतिशत रकम प्रदेश समितिमा बुझाउनुपर्ने निर्णय गरिएको छ ।

प्रदेश इन्चार्ज समिर बलामीको संयोजकत्वमा प्रदेश सचिवालय बसेर कार्यविधि बनाई छनौट गर्ने निर्णयसमेत बैठकले गरेको छ । केन्द्रीय कोषाध्यक्ष अमरध्वज लामाको संयोजकत्वमा इन्चार्ज समिर बलामी, सरिता श्रेष्ठ, राजु चौधरी र संघीय प्रतिनिधि रहने गरी अध्यक्ष मण्डल गठन गरिएको छ । इन्चार्ज समिर बलामीको संयोजकत्वमा निशा तामाङ र सञ्च ब्लोन सदस्य रहनेगरी निर्वाचन समिति चयन गरिएको छ । बैठकले नवनिर्वाचित विभिन्न जिल्लाका कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना ज्ञापन गर्ने निर्णयसमेत गरेको छ ।