फोनिज मकवानपुरको आयोजनामा प्रभातफेरी
मकवानपुर । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले शनिबार हेटौंडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । फोनिजको २४ औैं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
प्रभातफेरी कार्यक्रम हेटौंडाको सिमा चोकबाट सुरु भई बुद्धचोक हुँदै बजार परिक्रमा गरेर पुनः सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रम फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा भएको हो ।
सो क्रममा उनले सम्पूर्ण पत्रकारको अधिकारका लागि फोनिज सदैब लागि परिरहेको बताए । उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानलगायत उल्लेखनीय उपलब्धी प्राप्त हुनुमा जनजाति पत्रकारिताको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेन गरे ।
साथै उनले श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले देशैभर संचालन गरेको सदस्यता शुद्धीकरण अभियान राम्रो भएता पनि जिल्लामा मापदण्ड पुगेका आदिवासी जनजाति लगायतका पत्रकारलाई महासंघको सदस्य हुनबाट बञ्चित गरिएकोमा दुःख व्यक्त गरे ।

यस्तै, कार्यक्रममा नेपाल आदीवासी जनजाति पत्रकार महासंघको केन्द्रीय पार्षद् सुर्वणलाल श्रेष्ठले फोनिजको स्थापना दिवसको शुभकामना दिँदै जिम्मेवार र उत्तरदायी भएर पेशामा क्रियाशील हुन सबै पत्रकारलाई आग्रह गरे ।

फोनिज मकवानपुरका सहसचिव मनिता रानाले संचालन गरेको कार्यक्रममा फोनिज मकवानपुरका उपाध्यक्ष नवराज वाईबा, कोषाध्यक्ष सन्देश थिङलगायत कार्यसमिति र जनजाति पत्रकारहरुको सहभागिता रहेको थियो ।
