राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारी दर्ता हुँदै

तु खबर संवाददाता
२०७८ पुष २०, मंगलवार ०८:५४

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि कार्यतालिका रहेको छ । निर्वाचनका लागि सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि निर्वाचन हुने लागेको हो । जसमा सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहका रहेका छन् । आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् ।

चुनावका लागि १२ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । यो चुनावका लागि सत्ता साझेदार दल र प्रतिपक्षी एमाले प्रतिस्पर्धा गर्दैछन् । १९ सिटमा सत्ता गठबन्धनमा रहेका दलले भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५÷५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै, एमाले भने एक्लै चुनावी मैदानमा उत्रिने छ । एमालेले रिक्त १९ पदमा उम्मेदवारी दर्ता गर्दैछ ।