रेशम चौधरीको नयाँ दल दर्ता गर्न समर्थकहरु निर्वाचन आयोगमा

तु खबर संवाददाता
२०७८ पुष १९, सोमबार १५:०४

काठमाडौं । निलम्बित सांसद रेशम चौधरीको नयाँ राजनीतिक दल ‘नागरिक उन्मुक्ति पार्टी’ दर्ता गर्न उनका समर्थकहरु निर्वाचन आयोग पुगेका छन् । आज (सोमबार) बाजागाजासहित दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका हुन् । कैलाली टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका चौधरीको समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजासहित निर्वाचन आयोग पुगेका हुन् ।

पछिल्ला केही दिनयता चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भइरहेको छ । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरी टीकापुर घटनामा दोषी ठहर गरेपछि उनी अहिले पनि कैद भुक्तानका लागि कारगारमा छन् । उनी जेलमा रहँदा नै वारिसबाट उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि जेलमा रहँदा नै उनको पार्टी दर्ता गर्न लागिएको हो ।