एमाले बागमती प्रदेश सदस्य आचार्यको निधन

तु खबर संवाददाता
२०७८ पुष १८, आईतवार ०९:००

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य लीलाधर आचार्यको निधन भएको छ । ६२ वर्षीय आचार्यको चितवनको भरतपुर महानगरपालिका–१० स्थित, आफ्नै निवासमा शुक्रबार राति निधन भएको हो । शनिबार विहान देवघाटमा आचार्यको अन्त्येष्टि गरिएको हो ।

उनी केही समयदेखि अस्वस्थ्य थिए । एमाले चितवन अध्यक्ष पार्वती रावलले शनिवार शोक वक्तव्य जारी गरी आचार्यको निधनले पार्टीले एक होनाहार पार्टी संगठक, विकासप्रेमी योद्धा तथा जनप्रिय नेता गुमाएको बताइन् । ‘दुःखको यस घडीमा दिवंगत कमरेडप्रति भावपूर्ण श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवार जनमा धैर्यधारण गर्नसक्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछौं’, वक्तव्यमा भनिएको छ । आचार्यलाई गुमाउँदा एमाले जिल्ला कमिटी स्तब्ध एवम् मर्माहत भएको रावलले बताएकी छन्।

आचार्य तत्कालीन नेकपा माले हुँदै एमालेको लामो समय जिल्ला कमिटी चितवन सदस्य, सचिवालय सदस्य, साविक कल्याणपुर गाउँपञ्चायत माडीको जनपक्षीय प्रधानपञ्च, दुई कार्यकाल तत्कालीन जिल्ला विकास समिति चितवनका सदस्य, माडी क्याम्पस बसन्तपुर संस्थापक अध्यक्ष र जनकल्याण मावि कल्याणपुरका संस्थापक प्रमुख नेतृत्वकर्ता हुन् ।