देशभर साढे ७ लाख नयाँ मतदाता थपिए

तु खबर संवाददाता
२०७८ पुष १७, शनिबार १५:३९

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ । मतदाता नामावली संकलन अभियानअन्तरगत शुक्रबारसम्म देशभर ७ लाख ४९ हजार नयाँ मतदाताहरु थपिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार, ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली सङ्कलन भइरहेको छ । यसअघि ०७८ मंसिर १७ गतेदेखि एक महिनाका लागि मतदाता कार्यक्रम सञ्चालन गरिएको थियो । एक महिनासम्म गरिएको मतदाता नामावली संकलन दुई चरण सञ्चालन गरिएको थियो ।

मतदाता नामावली संकलन अभियान हिमाल र पहाडमा १० दिन तोकिएको थियो तराई र शहरी क्षेत्रमा १५ दिन सञ्चालन गरिएको थियो । मतदाता नामावली दोस्रो चरणको कार्यक्रम पुस १९ गते सकिदैँछ । तर, दोस्रो चरणको कार्यक्रम सकिए पनि मतदाता नामावली कार्यक्रम निरन्तर चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार, हाल देशको जुनसुकै ठाउँबाट आफ्नो नाम दर्ता गराउन पाइनेछ । अन्य जिल्लाका व्यक्ति कामको वा पढाइको शिलशिलामा अर्कै जिल्लामा पुगेको खण्डमा पनि त्यहीँबाट नाम दर्ता गराउन पाइनेछ ।