एमसीसीविरुद्ध आइतबार २२ दलले विरोध प्रदर्शन गर्ने

तु खबर संवाददाता
२०७८ पुष १६, शुक्रबार १५:०८

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा बृहत विरोध प्रदर्शन गर्ने भएका छन् । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सो कुरा बारे जानकारी गराएको हो ।

नेता गजुरेलले यही पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको जानकारी दिए । उनले आइतबार दिउँसो १२ बजे माइतीघरमण्डलामा हुने प्रदर्शनमा आम जनतालाई आग्रह समेत गरेका छन् ।

नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने योजनाले मूर्तरुप लिन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरुमाथि दबाव दिने काम निरन्तर जारी राखेको बताए । २२ दलका तर्फबाट जारी विज्ञप्तिमा ‘यो क्रम पुस १८ गतेको संसद् बैठकमा पनि जारी रहने भएकाले ‘राष्ट्रघाती एम.सी.सी। सम्झौता संसद्को कार्यसूची बन्न नदिन’ २२ राजनीतिक दल÷सङ्गठनहरुद्वारा विरोध प्रदर्शनको आयोजना गरिएको छ’, उल्लेख छ ।