न्यौपानेलाई हेटौंडा उपमहानगरपालिकाको सम्मान
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बौद्धिक अपाङ्गता बालबालिकाको अध्ययनको क्षेत्रमा योगदान गरेको भन्दै सि आशा फाउन्डेसनकी संस्थापक आईना वार्का न्यौपानेलाई सम्मान गरेको छ । उपमहानगरपालिकाले बिहिबार भएको नगरसभाबाट फाउण्डेशनकी संस्थापक न्यौपानेलाई सम्मान गरेको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ हरियाली टोलमा कार्यालय स्थापना गरेर बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको शैक्षिक तथा स्वास्थ्य अवस्था सुधारका लागि गरेको कार्यको प्रशंसा गर्दैै उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले दोसल्ला, माला पहि¥याउँदै प्रशंसा पत्रद्वारा उनलाई सम्मानित गरेका हुन् ।
फाउण्डेशनद्वारा संचालित आशा विशेष पाठशाला तथा पुर्नः स्थापना केन्द्रबाट बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकाको अध्ययन अध्यापन तथा उपचार र हाते सिप सिकाईका क्षेत्रमा सेवा गर्ने कार्य प्रशासंनिय रहेको भन्दै उपहानगरपालिकाले न्यौपानेलाई सम्मान गरेको हो ।
सम्मान ग्रहण गरे पश्चात न्यौपानेले यो आफ्ना लागि खुशिको अवसर रहेको प्रतिक्रिया दिइन् । स्थानीय सरकारबाट आफ्ना कामबाट संमानित हुने अवसर पाउँदा आफूमा थप हौसला थपिएको र आगामी दिनमा निरन्तरता र स्थायित्वको लागि काम गर्ने उनले बताइन् ।
फाउण्डेशनले संचालन गरेको आशा पाठशालामा हाल ४८ जना बौद्धिक अपाङ्गता भएका बालबालिका रहेका छन् । उनीहरुको दैनिक हेरचाह, स्वास्थ्य उपचार र पठनपाठन फाउण्डेशनले नै गर्दै आएको छ । केही बालबालिकाहरु स्थान अभावका कारण अध्ययनका लागि प्रवेश पाउन सकेका छैनन् ।
फाउण्डेशनले अनाथ तथा अपाङ्ग बालबालिकाहरुको सहजताको लागि हेटौंडामा आफ्नै होस्टल पनि संचालनमा ल्याएको छ । हाल सो होस्टलमा ११ जना बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिका आश्रित छन् ।
फाउण्डेशनले ललितपुरमा पनि पाठशालाको शाखा संचानलनमा आएको छ भने बर्दिवासको महोत्तरीमा पनि पाठशालाको शाखा संचालनको तयारी गरिरहेको छ । त्यस्तै ललितपुरको सानेपामा अनाथ, बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गर्दै हाते सिप सिकाई केन्द्र पनि संचालनमा ल्याएको छ ।
