माओवादी हेटौंडा ८ ले गर्यो एमाले प्रवेश गरेका ४ जनालाई कारवाही
मकवानपुर । नेकपा माओवादी केन्द्र ८ नम्बर वडा कमिटीले एमाले प्रवेश गरेका ४ जनालाई कारबाहीको लागि सिफारिस गरेको छ । पार्टीको विधान विपरित कार्य गरेको भन्दै नगर कमिटी सदस्य धर्मराज पुडासैनीसहित ४ जनालाई कार्वाहीको लागि सिफारिस गरेको हो ।
यस्तै, पार्टीले पूर्व वडा सचिव सुजन कार्की, सदस्यहरु क्रमशः सहदेव ग्यावा र होमनाथ खनाल (रोशन) लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाहीको लागि सिफारिस गरिएको नेकपा माओवादी केन्द्र ८ नम्बर वडा कमिटी अध्यक्ष नारानलाल श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्र ८ नम्बर कमिटीले पार्टी भित्रका केही अवसरवादी र अराजक व्यक्तिहरुलाई कारबाही गरेर पार्टी शुद्धिकरण अभियान शुरु गरिएको जनाएको छ ।
कारवाही गरिएकाहरु केही दिन अघि एमालेमा प्रवेश गरेका थिए । पुडासैनीसंगै जिल्ला सदस्य परमानन्द मिश्र, माओवादी केन्द्र हेटौंडा नगरकमिटी सदस्य सादुराम राउत, होमनाथ खनाल, माओवादी केन्द्र हेटौंडा–८ का वडा सचिव सुजन कार्की, वडा कमिटि सदस्यहरु साधुराम ग्यावा, सुर्य खनाल, रिता अधिकारी, वाईसियल जिल्ला सदस्य विराज गौतम, सन्तोष डंगोल लक्षु उप्रेती, अमृत डिडमडुम, प्रदिप मिश्र लगाएतका दुई दर्जन माओवादी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।
