मकवानपुरमा सात दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

तु खबर संवाददाता
२०७८ पुष १५, बिहीबार ०९:३२

मकवानपुर । मकवानपुरमा सात दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा गत बिहीबारदेखि सुरु भएको उक्त तालिम बुधबार सम्पन्न भएको हो । युरोपियन युनियन र पत्रकार महासंघको संयुक्त सहकार्यमा भएको तालिममा मकवानपुरका ४६ पत्रकारलाई प्रशिक्षण दिइएको थियो।

आधारभुत पत्रकारिता तालिम समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले प्रदेश सरकार खारेज गर्नुपर्ने बताए । राजनीतिक स्वार्थपूर्तिका लागि प्रदेश सरकारमा १४ वटा मन्त्रालय बनाएर मन्त्री र राज्यमन्त्री गरी १८ जनाको मन्त्रिमण्डल बनाइएको भन्दै मेयर महतले प्रदेशको औचित्यमाथि प्रश्न उठाए। स्थानीय तहको मातहत मालपोत र नापी कार्यालय सञ्चालन हुनुपर्ने मेयर महतले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलले शासकविरुद्ध कलम चलाएर समाज परिवर्तनमा लाग्न प्रशिक्षार्थीलाई आग्रह गरे । कार्यक्रमनेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता तथा मेयर महतको प्रमुख आतिथ्यता रहेको हो । कार्यक्रममा विशिष्ठ अतिथिमा नेपाल पत्रकार महासंघ मकवानपुर पूर्वअध्यक्ष राममणि दहाल, महासंघ केन्द्रीय समितिका कार्यक्रम प्रवन्धक संघर्ष पन्त तथा सञ्चारकर्मीको सहभागिता थियो।