वर्षाले धकेलियो जिल्लास्तरीय भलिबल

तु खबर संवाददाता
२०७८ पुष १५,बिहीबार ०९:२२

मकवानपुर । मकवानपुरगढी गाउँपालिका हुने भनिएको जिल्लास्तरीय रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण एक दिनपछि सरेको छ । आमभञ्जयाङ युवा क्लबको आयोजनामा मकवानपुरगढी–५, धादिङमा हुने प्रतियोगिता बुधवार वर्षाका कारण स्थगित गरिएको क्लब अध्यक्ष राजेश अधिकारीले जानकारी दिए ।

पालिका अध्यक्ष विदुर हुमागाईले प्रतियोगिता उद्घाटन गर्ने भनिए पनि मंगलबार रातिदेखि निरन्तर वर्षाका कारण बिहीबार विहान ११ बजे हुने भएको खेल संयोजक इन्द्रप्रसाद सञ्जेलले जानकारी दिए । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको संयोजक सञ्जेलले बताए । प्रतियोगिता उद्घाटन खेल कैलाश गाउँपालिका र बज्रबाराही क्लब बाहानगरबीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६ सय ६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा द्वितीय हुनेले ३३ हजार ३ सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय हुनेलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेलाई ५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

प्रतियोगितालाई मकवानपुरगढी गाउँपालिकाले प्रायोजन गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाई २ हजार, वेष्टसेटरलाई २ हजार, वेष्टब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ।