नेपाली भलिबल खेलाडीले मासिक पारिश्रमिक पाउने

तु खबर संवाददाता
२०८० भाद्र १९,मंगलवार १८:३६
file-photo

काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीमा रहेका खेलाडीहरुले मासिक पारिश्रमिक पाउने भएका छन् । नेपाली खेलकुदको इतिहासमा भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमिक पाउने भएका हुन् ।

राष्ट्रिय टोलीमा रहेका १२ पुरुष र १२ जना महिला खेलाडीलाई मासिक रुपमा जनही पाँच हजार रुपैयाँका दरले पारिश्रमिक प्रदान गर्न लागिएको भलिबल संघले जनाएको छ ।

हाल अमेरिकामा रहेका भलिबका पूर्व–खेलाडी, भलिबलप्रेमी र अन्य सहयोगीसँगको सहकार्यमा संघले खेलाडीलाई मासिक पारिश्रमिक उपलब्ध गराउन लागेको हो । यसका लागि हाल अमेरिकामा रहेका नेपाली भलिबल टोलीका पूर्व–खेलाडी राम श्रेष्ठले समन्वय गरेको पनि संघले जनाएको छ ।

संघका अनुसार, अमेरिकामा रहेका सहयोगीहरुले भलिबल खेलाडीका लागि पठाएको तीन महिनाको पारिश्रमिक संघको खातामा आइसकेको छ । सोही अनुसार संघले खेलाडीलाई सेक्टेम्बर, अक्टोबर र नोबेम्बर महिनाको पारिश्रमिक एकमुष्ट उपलब्ध गराएको हो ।

यसअघि नेपालमा क्रिकेट र फुटबलका खेलाडीले मात्र मासिक रुपमा पारिश्रमिक पाउने गरेको थियो ।